रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने चयन हुनुभएको छ ।

रास्वपा संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले रेडियो नेपालसँग कुरा गर्नुहुँदै रास्वपा संसदीय दलको बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको जानकारी दिनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा आगामी शुक्रवार बस्ने पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ठोस निर्णय गर्ने उहाँले बताउनुभयो ।

रास्वपाको केन्द्रिय समितिको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्न निर्देशन दिएपछि संसदीय दलको बैठकले दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

यसअघि संसदीय दलको नेता रहनुभएका उपसभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) ले पदबाट राजीनामा दिएपछि लामिछानेलाई पुनः दलको नेता चयन गरेको हो ।

उपनिर्वाचनमा चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपा सांसदको सङ्ख्या २१ पुगेको छ ।


ताजा खबर