अस्पतालको आइसियूबाट प्रधानमन्त्रीको भिडियो सन्देश : ‘म उठेर बोल्न सक्ने अवस्थामा छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शय्याबाट आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे भिडियो सन्देश जारी गरेका छन् । एक सातादेखि महाराजगन्जस्थिति त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिसको मेजर शल्यक्रियापछि अहिले आफू उठेर बोल्न सक्ने, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको समेत बताएका छन् ।

करिब २४ घण्टादेखि जनमानसमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खस्किएका खबरहरू फैलिएसँगै ओलीले भिडियो सन्देश जारी गरेका हुन् । यद्यपि, प्रमको स्वास्थ्यबारे अनर्गल खबर कसले र किन सञ्चार गरायो भन्नेबारे भने केही खुलेको छैन ।

रोगबारेको सानो चर्चाबाट सुरु गरिएको २ मिनेट ६ सेकेन्ड लामो सन्देशमा उनले सागको अवस्था र सफलताको पनि कामना गरेका छन् । उनले एपेन्डिसाइटिससँगै संक्रमण फैलिएका कारण उपचारमा लामो समय लागेको समेत उल्लेख गरेका छन् ।
‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेसनपछि तपाईंहरू देखिरहनुभएको छ– मेजर अपरेसनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु,’ ओलीले भनेका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको गत मंगलबार (१० मंसिरमा) एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो । सोमबार राति १ बजेदेखि दुखाइ महसुस गरेका ओलीले त्यसको करिब ७ घण्टापछि मात्र शिक्षण अस्पताल पुर्याइएका थिए । अस्पताल पुगेलगत्तै करिब ४५ मिनेटको परीक्षणपछि उनमा एपेन्डिसाइटिस र पेटमा संक्रमण फैलिएको पाइएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

परम्परागत पद्धतिबाट पेट चिरेर शल्यक्रिया गरिएकाले घाउ निको हुन केही समय लागेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । प्रत्यारोपणका बिरामी भएका कारण इम्युनोसप्रेसिभ लिइरहेका प्रधानमन्त्री ओलीमा सामान्य बिरामीमा भन्दा संक्रमणको उच्च जोखिम हुने भएकाले एपेन्डिसाइटिस कुहिएर फैलिएको संक्रमणको जोखिम उच्च मानिएको थियो । यद्यपि, अद्भुत आत्मबलका कारण नै उनको स्वास्थ्यमा सोचेभन्दा निकै छिटो स्वास्थ्यलाभ हुँदै गएको चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीको भिडियो सन्देशको पूर्णपाठ
एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रूपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्यो । त्यसकारण उपचारका क्रममा हप्ता–दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेसनपछि तपाईंहरू देखिरहनुभएको छ– मेजर अप्रेसनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३औँ ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकोमा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू, सबैलाई आग्रह गर्दछु ।

केपी शर्मा ओली
प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षबाट)


ताजा खबर