१३औं दक्षिण एसियाली खेलकुद : आज साँझ भव्य समारोहबीच समापन गरिने

१३औं दक्षिण एसियाली खेलकुद (साग) काे आज अन्तिम दिन। आज साँझ भव्य समारोहबीच १३औं सागकाे समापन हुँदैछ।

मङ्सिर १५ गतेबाट औपचारिक रूपमा सुरु भएको सागमा नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशका खेलाडी सहभागी छन्। सागको सदस्यमध्ये अफगानिस्तानले यस पटकको सागमा भाग लिएको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं सागको समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम छ। अस्वस्थका कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट उनले भिडियो कन्फरेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने भएका हुन् । समापन समारोह दशरथ रङ्‍गशालामा मङ्‍गलबार साँझ हुनेछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं साग मुल आयोजक कमिटिका सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार समापन समारोहअघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल खेल रङ्‍गशालामा हुनेछ। त्यसअघि दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ।

फुटबलको फाइनल सकिएलगत्तै झण्डै डेढ घण्टाको समापन समारोह हुनेछ। समापन समारोहमा प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्यसचिव सिलवालले मन्तव्य राख्नेछन्।

यसबाहेक सबै टोलीको मार्चपास, आगामी संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण, पाकिस्तानको प्रस्तुति र त्यसपछि साँस्कृतिक कार्यक्रम तथा आतिशबाजी हुने सदस्यसचिव सिलवालले जानकारी दिए।

सागको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका १८ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्। १३औं सागमा ७ देशका ३ हजार २ सय २८ खेलाडी सहभागी छन्। यस पटकको सागमा ६ सय ४८ नेपाली खेलाडी सहभागी छन्। यस पटकको सागमा ३० खेलका विभिन्न प्रतिस्पर्धा काठमाडौं, ललितपुर, कास्की र धनुषाको जनकपुरमा गरिएको थियो। १३औं सागमा खेलाडीबाहेक आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित २ सय ९ जना सहभागी छन्।

यस पटकको सागमा कूल १ हजार १ सय ३५ पदकको लागि प्रतिस्पर्धा भएको थियो, जसमा स्वर्ण ३ सय २४, रजत ३ सय २४ र कास्य ४ सय ८७ रहेका थिए।

१३औं सागमा आर्चरी, एथलेटिक्स, बास्केटबल, ३×३ बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट (पुरुष), क्रिकेट (महिला), साइक्लिङ, फेन्सिङ, फुटबल (पुरुष), फुटबल (महिला), गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खो-खो (पुरुष/महिला), पाैडी, सुटिङ, स्क्‍वास, टेबल टेनिस, टेनिस, तेक्‍वान्दो, ट्रायथलन, भलिबल, बिच भलिबल, वेटलिफ्टिङ, कुस्ती र उसु खेल समावेस गरिएको थियो।

सरकारले १३औं साग आयोजनाका लागि करिब साढे ४ अर्ब रुपैयाँ बजेट निकासा गरेको थियो। जसमध्ये पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका निम्ति ३ अर्ब ६५ करोड रुपैयाँ बजेट रहेको थियो।


ताजा खबर