नेपाली बाँसुरीवादक मनोसे (मनोज) नेवा संगीतका लागि विश्वकै सर्वोच्च पुरस्कार मानिने ग्रामी अवार्डमा मनोनित भएका छन्।
नेवा सम्मिलित देव प्रिमलको अल्बम ‘देव’ ६२ औं ग्रामी अवार्डको बेष्ट न्यू एज अल्बममा मनोनयनमा परेको छ । मनोनयनमा ‘देव’सँगै अन्य चार अल्बम छानिएका छन् ।
२१ नोभेम्बरमा आफनो फेसबुक पेजमार्फत मनोसेले देव र मिटेनले फोन गरी आफूहरुको अल्बम ग्रामीमा मनोनयनमा परेको समाचार सुनाएको र यसबाट आफू चकित परेको उल्लेख गरेका छन् ।
देव प्रिमल, मिटेन र मनोसेको यो अल्बम गायत्री मन्त्रको भक्तिसंगीत हो, अल्बममा मनोसेले बाँसुरीका असाधारण धुन प्रस्तुत गरेका छन् ।
काठमाडौं बौद्धका मनोसे बाल्यकालदेखि नै बाद्यवादनमा सरिक थिए । उनी सुकर्म ब्याण्डका संस्थापक सदस्य पनि हुन् ।
लामोसमयदेखि अमेरिका बसिरहेका उनले नेपालमा क्यान्डेजा कलेक्टिभ, १९७४ एडी, आनी छोइङसँग पनि काम गरिसकेका छन् ।
उनी सन् १९९८ मा पहिलोपटक विख्यात तबलावादक होमनाथ उपाध्यायको साथमा प्रस्तुतीका लागि पश्चिमा देशहरुमा पुगेका थिए ।
सन् २०२० को जनवरी २७ मा हुने समारोहमा ‘देव’ले ग्रामी अवार्ड जितेमा मनोसे ग्रामी पाउने पहिलो नेपाली संगीतकर्मी हुनेछन् ।