बाङ्लादेशकी प्रधानमन्त्रीको राजीनामा : देश छोडिन्

विद्यार्थी आन्दोलन चर्किएपछि बाङ्लादेशकी प्रधानमन्त्री शेख हसीनाले पदवाट राजीनामा दिएकी छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री हसीनाले सोमबार राजीनामा दिएकी हुन्। उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ।

राजीनामा दिएसँगै हसीनाले देश छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बहिनी रेहनासँगै उनी देश छोडेर भारत पुगेको बीबीसी बाङ्लाले समाचार लेखेको छ। उनी सैनिक हेलिकोप्टरबाट सुरक्षित तवरमा भारत पुगेको जनाइएको छ।

पछिल्लो पटक आइतबारदेखि विद्यार्थी आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा एकै दिन ९० जनाको ज्यान गएको थियो। त्यसपछि आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री हसीनाको राजीनामा माग गरेका थिए।

सोमबार बिहानैदेखि देशभर कर्फ्यू लगाइएको थियो। कर्फ्यू तोड्दै विद्यार्थीले राजधानी ढाका लगायत प्रमुख शहरमा प्रदर्शन गरिरहेका छन्। उनीहरू सोमबार अपराह्न प्रधानमन्त्री निवास छिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

बाङ्लादेशको स्वतन्त्रता संग्राममा सहभागी व्यक्तिका परिवारलाई आरक्षणको व्यवस्था रहेको थियो। हसीना नेतृत्वको सरकारले आरक्षण बढाएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। उनीहरूले आरक्षण हटाउन माग गरेका थिए।

बाङ्लादेशको सर्वोच्च अदालतले पनि आरक्षण घटाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै विद्यार्थी आन्दोलन मत्थर भएको थियो। तर पछिल्लो पटक सरकारले सर्वोच्चको आदेश कार्यान्वयन नगर्ने संकेत देखाएपछि विद्यार्थी फेरि आन्दोलनमा उत्रिएका हुन्।

पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ। त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ। बीबीसी


ताजा खबर