साफ च्याम्पियनसिप उपाधिकालागि नेपाल र भारत भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो । पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ ।

नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ । पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो । त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ । नेपाली फुटबल टिम भारतविरुद्ध खेल्दा सधैँ अतिरिक्त प्रयास लगाउने गर्दछ । नेपाली फुटबल समर्थक पनि आफ्नो टिमले सधैँ भारतविरुद्ध जितेको हेर्न चाहन्छ । यही प्रेरणाले नेपालले भारतविरुद्ध खेल्ने पक्का छ ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङ पनि श्रीलङ्कालाई हराएपछि पोस्ट म्याच कन्फरेन्समा भारतलाई हराउन सम्पूर्ण शक्ति लगाएर आफ्ना खेलाडीले प्रदर्शन गर्ने बताउनुभएको थियो । हाम्रो ध्यान अहिले भारतलाई हराउनेमा नै केन्द्रित छ । साफ च्याम्पियन बन्ने सपना पूरा गर्न अहिले तगारोका रूपमा रहेको भारतलाई जसरी पनि जित्नु पर्छ भन्ने लक्ष्यसहित खेल्ने छौँ– उहाँले भन्नुभएको थियो ।

प्रशिक्षक तामाङलाई पहिलो रोजाइका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाही नहुँदा रणनीति बनाउन केही कठिन हुन सक्छ । भुटानविरुद्धकै पहिलो खेलमा घाइते हुँदा यी दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए । ‘राइट ब्याक’ पूजा राना पनि चोटकै कारण पहिलो खेल खेलेपछि मैदानमा उत्रिनुभएको छैन । नेपालको प्रमुख शक्ति भनेको दक्षिण एसियाकै सर्वश्रेष्ठ महिला फुटबल सावित्रा भण्डारीको उपस्थिति हो । पछिल्लो संस्करणमा नेपालले सावित्राबिना नै भारतलाई हराएको थियो । अहिले सावित्राको उपस्थितिमा नेपाली टिम उच्च मनोबलमा खेल्ने पक्का छ । सावित्रा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी स्ट्राइकर हुनुहुन्छ । अर्की स्ट्राइकर रेखा पौडेल पनि भारतविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । चालु प्रतियोगितामा रेखाले सर्वाधिक सात गोल गर्नुभएको छ । आबुधावीबाट उच्चस्तरको व्यावसायिक महिला लिगको अनुभवले आफू अझ खारिएकी प्रमाण रेखाले यस प्रतियोगितामा देखाइरहनुभएको छ  । उहाँले समूह चरणमा माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल गर्नुभयो ।  यसअघि साफमा नेपालका लागि पाँच गोलको कोसेढुङ्गा सावित्राले मात्र हासिल गर्नुभएको थियो । माल्दिभ्सविरुद्ध पाँच गोल गरेपछि श्रीलङ्काविरुद्ध पनि रेखाबाट दुई गोल आयो ।

भारतका प्रमुख प्रशिक्षक सन्तोष कश्यपले बङ्गलादेशविरुद्धको खेलपछि नेपालसँग सेमिफाइनल खेल्नु परेमा आफू चिन्तित नहुने बताउनुभएको थियो । “नेपाल बलियो टिम हो । दशरथ रङ्गशालामा नेपालालई दर्शकको पनि अपार समर्थन हुन्छ । त्यसैले घरेलु टिमसँग खेल्नु चुनौती हुन्छ तर हामी फाइनल खेल्ने मेरो विश्वास छ,” प्रशिक्षक कश्यपले भन्नुभएको थियो । उहाँले आफूले धेरै प्रयोग गरेकोले बङ्गलादेशविरुद्धको खेल हारेकोले नेपालविरुद्ध त्यस्तो गल्ती नगर्ने पनि बताउनुभयो । नेपाल र भारतबिच खेल हुने दिन पहिलो सेमिफाइनलमा गत विजेता बङ्गलादेश र भुटानबिच पनि प्रतिस्पर्धा हुने छ ।  रासस


ताजा खबर