स्थानीय तह उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता सम्पन्न भएको छ ।
मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई जना महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि मङ्सिर ३ गते बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मिति ४ गते अपराह्न ५:०० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
त्यसैगरी मिति ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३:०० बजेदेखि ५:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मिति १६ गते आइतबारका दिन बिहान ७:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने भएको हुँदा मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदाताहरूमा आह्वान समेत गरेको छ । रासस