आज बिहानदेखि नै देशभर बादल लागेसँगै केही स्थानहरुमा अहिले पानी परिरहेको छ । केही स्थानहरुमा पानीसँगै हिउँ पनि परिरहेको छ ।
काठमाडौंँ उपत्यककामा पनि अहिले हल्का बर्षा भएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएरातिदेखि डडेल्धुरासहित सुदुरपश्चिममा पानी परेको छ ।
पश्चिमी वायुको प्रभावसँगै डडेल्धुरासहित सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पानी परेको हो । लामो समयदेखि बर्षा नहुँदा चिन्तित बनेका किसानहरु पानी परेपछि खुशी भएका छन् ।
बर्खे तरकारी लगाउँने समय भएकाले तरकारी खेती गर्ने किसानहरु उत्साहित भएका हुन् ।
सिँचाई सुविधा नभएका स्थानका किसानहरु बर्षा भएपछि तरकारी लगाउँनका लागि सहज हुनुका साथै आलु उम्रने समय भएकाले राम्रो उत्पादन हुने भन्दै उत्साहित बनेका छन ।
सुदुरपश्चिमका डडेल्धुरा, बैतडी लगायतका जिल्लामा बर्खे तरकारीबाली लगाउँने किसानहरुको संख्या बढ्दै गईरहेको छ । डोटीमा पनि हिउँदे बर्षासँगै हिउँ समेत परेको छ ।
खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा किसान निकै हर्षित बनेका छन ।
लामो समयसम्म पानी नपर्दा गहुँ बाली लगायत तरकारीहरु सुक्न थालेको र अहिले बर्षात भएपछि केही राहत महसुस भएको स्थानीयको भनाइ छ । रासस