बतास एम.ए.डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि.ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा कम्पनीका १०० भन्दा बढी कर्मचारी तथा प्राविधिकहरू सहभागी भई विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन्। कार्यक्रममा सहभागीहरूको रक्तचाप (ब्लड प्रेसर) मापन, रगतमा चिनी (सुगर) को परीक्षण र आँखा परीक्षण गरिएको थियो, जसले कर्मचारीहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

उक्त स्वास्थ्य शिविर ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को अनुभवी मेडिकल टोलीद्वारा सञ्चालन गरिएको थियो भने दृष्टि आई केयर सिष्टम ‘दृष्टि एट ॐ‘ को नेत्ररोग टोलीले दृष्टि परीक्षण सेवा प्रदान गरेको थियो।

साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार व्यूरोसँगको सहकार्यमा ॐ हस्पिटल व्लड बैंकद्वारा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। विशेषज्ञ रक्तसञ्चार टोलीले सुरक्षित तथा व्यवस्थित रूपमा रगत संकलन गरेको उक्त कार्यक्रममा कर्मचारीहरूले उत्साहजनक रूपमा रक्तदान गरेका थिए।

शिविर सञ्चालनका लागि ॐ हस्पिटलका तर्फवाट चिकित्सक, नर्स, नेत्र विशेषज्ञ र ब्लड बैंकका प्राविधिक सहित १५ जनाको दक्ष मेडिकल टोली परिचालन गरिएको थियो। सबै पक्षको प्रभावकारी समन्वयका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ॐ अस्पतालले जनाएको छ।
यस प्रकारका स्वास्थ्य कार्यक्रमले कर्मचारीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रक्तदान जस्तो मानवीय कार्यमार्फत जीवन बचाउन समेत ठूलो योगदान पुर्याएको कम्पनीको विश्वास छ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले यस अवसरका लागि बतास एम.ए.डब्लु. परिवारप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता स्वास्थ्य प्रवर्द्धनका कार्यहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।



















