नेपालमै काँधको जोर्नी सफल प्रत्यारोपण

नेपालको चिकित्सा क्षेत्रमा एक थप ठूलो सफलता हात लागेको छ। पाटन अस्पतालका वरिष्ठ हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. नवीस मान सिंह प्रधान नेतृत्वको चिकित्सकहरूको टोलीले एक ६५ वर्षीय विरामीको काँधको जोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ।

ललितपुर लुभुका कालि प्रसाद श्रेष्ठ घरमा लडेर काँधको हड्डी भाँचिएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो। उहाँमा पहिलेदेखि नै ओष्टियो आर्थ्राइटिसको समस्या थियो भने लडेका कारण कुम चलाउने ‘रोटेटर कफ’ मांसपेशीहरू समेत नराम्रोसँग च्यातिएर क्षति पुगेको थियो। लामो समयदेखि असह्य दुखाइ र दैनिक क्रियाकलापमा कठिनाइ भोगिरहनुभएका श्रेष्ठको अत्याधुनिक प्रविधिको प्रयोग गरी ‘रिभर्स टोटल सोल्डर रिप्लेसमेन्ट / आर्थोप्लाष्टि‘ शल्यक्रिया गरिएको हो।

नेपालमा काँधको जोर्नी प्रत्यारोपण (सोल्डर जोइन्ट रिप्लेसमेन्ट) अत्यन्तै न्यून संख्यामा अर्थात् विरलै मात्र हुने गरेको छ। यो जटिल शल्यक्रिया सफल भएपछि बिरामीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरूले बताएका छन्।

वरिष्ठ हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. नविस मान सिंह प्रधानका अनुसार यस्ता बिरामीहरूका लागि शल्यक्रिया जत्तिकै महत्वपूर्ण पाटो शल्यक्रिया पछिको हेरचाह र पुनर्संस्थापन हो। डा. प्रधान भन्नुहुन्छ, “यस किसिमका जटिल बिरामीहरूमा शल्यक्रिया पछिको पुनर्स्थापना र फिजियोथेरापी असाध्यै महत्वपूर्ण हुन्छ। सोल्डर जोइन्ट रिप्लेसमेन्टले गम्भीर जोर्नी क्षति भएका बिरामीलाई पुनः सामान्य जीवनयापन गर्न ठूलो सहयोग पुर्‍याउँछ।”

शल्यक्रियापछि बिरामी श्रेष्ठलाई आवश्यक चिकित्सकीय निगरानी, फिजियोथेरापी तथा पुनर्स्थापना उपचार प्रदान भइरहेको छ र उहाँको अवस्थामा राम्रो सुधार देखिएको छ।

लामो समयदेखि काँधको असह्य पीडा भोगिरहनुभएका विरामी कालि प्रसाद श्रेष्ठ शल्यक्रियापछि निकै उत्साहित हुनुहुन्छ। आफ्नो अनुभव साट्दै श्रेष्ठले भन्नुभयो, “लडेर कुमको हड्डी भाँचिएपछि अब त कहिल्यै हात चल्दैन कि भन्ने डर लागेको थियो। तर डा. नवीस र उहाँको टीमले मेरो काँधको सफल प्रत्यारोपण गरेर नयाँ जीवन दिनुभयो। शल्यक्रियापछि अहिले दुखाइ हराएको छ र हात राम्ररी चल्न थालेको छ। स्वदेशमै यस्तो उपचार पाउनु हाम्रा लागि ठूलो भाग्य हो।”

स्वास्थ्य क्षेत्रको तीव्र विकाससँगै नेपालमै यस्ता जटिल शल्यक्रियाहरू सफलतापूर्वक हुन थाल्नुले नेपालीहरूलाई स्वदेशमै गुणस्तरीय उपचारको अवसर मिलेको छ। नेपालमा काँधको जोर्नीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनुले देशको हाडजोर्नी उपचारलाई थप उचाइमा पुर्‍याएको चिकित्सकहरूको दाबी छ।

नेपालमा विशिष्ट हाड जोर्नी उपचार सेवा अन्तर्गत प्रा. डा. प्रधानले पाटन अस्पताल र  ॐ हस्पिटल चावहिलमा  लामो समयदेखी टोटल नि रिप्लेसमेन्ट सर्जरी तथा टोटल हिप रिप्लेसमेन्ट सर्जरी सेवा समेत प्रदान गर्दै आउनुभएको छ ।


ताजा खबर