कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या १ सय ३२ पुग्यो : ६ हजार मानिसमा संक्रमण पुष्टि

चीनमा कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या १ सय ३२ पुगेको छ। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ। त्यस्तै कम्तीमा ६ हजार मानिसमा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। चिनिया अधिकारीका अनुसार चीनमा ६ करोड मानिस कोरोना भाइरसका कारण प्रभावित भएका छन्।

दिनानुदिन मृत्यु हुनेको संख्या बढेपछि चीन सरकारले आफ्ना नागरिकको आन्तरिक र बाह्य भ्रमणलाई कसेको छ। चीन सरकारले आफ्ना नागरिकलाई सूचना जारी गर्दै देशभित्रै र विदेशको भ्रमण नगर्न आग्रह गरेको छ।
भाइरस अन्यत्र फैलन नपाओस भनेर भ्रमण नगर्न आग्रह गरिएको चीनले जनाएको छ।

पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा कोरोना भाइरस भेटिएको थियो। त्यसपछि यो अहिले नेपाल, अमेरिका, जर्मनी, क्यानडा, जापान, दक्षिण कोरिया, थाईल्याण्ड, अष्ट्रेलिया, सिंगापुरलगायत देशमा देखिएको छ।

कोरोना भाइरसका कारण उहान सहरलाई ‘शिल्ड’ गरिएको छ। त्यहाँ हवाई उडान र सार्वजनिक यातायात सेवासमेत बन्द गरिएको छ। उहान सहरमा १ सय २० जति नेपाली रहेका छन्। चीनले कोरोना भाइरस फैलन नपाओस् भनेर अन्य १३ सहरमा पनि सार्वजनिक यातायात बन्द गरेको छ। –रोयटर्स


ताजा खबर