कोरोना भाइरसको संक्रमण फैलन नदिन दलहरु एकजुट

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने जोड दिएको छ ।

बैठक पछि सञ्चारकर्मी संग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको संक्रमण फैलिन नदिन राष्ट्रिय सहमति देखिएको र त्यस अनुसार नै सरकार अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भइसकेको जानकारी गराईएको नेताहरूले बताउनुभयो ।

यस बाट नेपाल कोरोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने बैठकमा छलफलका क्रममा सहभागीहरूले धारणा राख्नुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले जानकारी दिनुभयो ।

radionepal

बैठकपछि सञ्चारकर्मी संग कुरा गर्दै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले उच्च सतर्कता अपनाउन र नेपालका अस्पतालहरूलाई विपत्ति आई परेको खण्डमा पूर्ण तयारी अवस्थामा रहने गरी काम गर्न आफुहरूले सुझाव दिएको बताउनुभयो ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाउनुभएकोे बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाँण र गगन थापा, राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गर्नुभएको थियो । रासस


ताजा खबर